सिमकोट । उद्यमशिल सांस्कृती, राष्ट्रको समवृद्धि भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले आइतबार एक कार्यक्रमको आयोजना गरी दशौं उद्योग दिवस मनाइएको छ । सरकारले औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउँदै आएको छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा पनि जिल्ला प्रशासनको कार्यालयबाट र्याली निकालेर तल्लो बजारको धुपी रुख हुँदै पुन माथिल्लो बजारमा पुगेर प्रशासन अगाडी कोण सभा भएर सम्पन्न भएको थियो । उद्योग दिवसको र्यालीमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, उद्यमी लगायतको उपस्थित रहेको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा तीन हजार, ६ सय, ८५ विभिन्न किसिमका उद्योग दर्ता भएपनि प्रयोगमा आउन नसकेर अहिले कतिपय उद्योग बन्दको अवस्थामा पुगेको सोही कार्यालयका प्रमुख श्रीबहादुर विष्टले बताउनुभयो । उद्योग दर्ता भएअनुसार काम पाएर रोजगारीको सिर्जना हुन नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विष्टको भनाई थियो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी नाराण प्रसाद पाण्डेयले उत्पादन र रोजगारीका लागि सरकारी निकाय एक्लै ले सम्भव नहुने भएकाले सबैको हातेमालोको आवश्यक भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । जिल्लामा सना तथा ठूला उद्योगहरू सञ्चालनको सम्भावनालाई खोजी गर्दै सरकार अघि बढिरहेकोले यसमा सरकार मात्र नभई निजी लगानीकर्तालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिदैँ प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
पुन प्रमुख जिल्ला अधिकारी पाण्डेयले हुम्लामा दर्ता भएका तीन हजार, ६ सय, ८५ उद्योग कम भएको बताउनुभयो । यी उद्योगमा थपेर दश हजार पुर्याउनु पर्ने र रोजगारीको सिर्जना गर्नु पर्ने बताउनुभयो । दश हजार उद्योगले रोजगारी दियो भने एक लाख नागरीकले काम पाउने बताउनुका साथै हुम्लाको ५५ हजार जनसंख्याले रोजगारीको सिर्जना गरेर यहाँ भन्दा बाहिरका नागरीक ल्याउन पर्ने बताउनुभयो ।
आजै भएको दशौँ उद्योग दिवसमा शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, उद्योग बाणिज्य संघका प्रतिनिधि लगायत अन्य कार्यालयका प्रतिनिधिको समेत सहभाती रहेको थियो ।