सिमकोट । हिमाली जिल्ला हुम्ला र देशभरको नयाँ शैक्षिक सत्र र वार्षिक परीक्षाको तालिका निकै फरक रहेको छ । हुम्लामा फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर पुस महिनाको १५ गतेसम्म वार्षिक परीक्षा सकिएर विद्यालय बन्द हुने गर्दछन् । देशभर चैत महिनामा वार्षिक परीक्षा सकिएर वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
हुम्लामा हिउँदमा चिसो अत्यधिक हुनका साथै हिउँदयाममा भारी हिमपात हुने हुँदा पुस महिनामा वार्षिक परीक्षा सकेर यहाँका विद्यालय हिउँदे विदामा हुन्छन् । मिनपचास दिनको विदा सकिएर नयाँ शैक्षिक सत्र सुरु भइ पठनपाठन भइरहेको समयमा शिक्षक आन्दोलनले थप विद्यार्थी मारमा परेका छन् । चैत बिस गतेदेखि शिक्षा ऐनका माग गर्दै शिक्षक आन्दोलनमा उत्रिएका कारण जिल्लामा रहेका एक सय ४५ सामुदायिक विद्यालयको पठनपाठन पूर्णरुपमा बन्द भएको छ ।
हुम्लामा १ सय, ४५ सामुदायिक, एउटा धार्मिक र पाँच संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १४ सामुदायिक, एक निजी गरी १५, सिमकोटमा २१ सामदुदायिक चार निजी गरी २५, खार्पुनाथमा १७ सामुदायिक, सर्केगाडमा ३२ सामुदायिक, एक निजी गरी ३३, चङ्खेलीमा २४ सामदाियक, अदानचुलीमा २० र ताँजाकोटमा १७ सामुदायिक विद्यालयको पठनपाठन बन्द हुन पुगेको छ ।
शिक्षा ऐनको माग सहित विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा गएपछि हुम्लाका बिस हजार एक सय ६२ विद्यार्थीको पठनपाठन प्रधभावित भएको शिक्षा विकास तथा समन्वय इकाई समिति हुम्लाका निमित्त प्रमुख योगेश आलेमगरले बताउनुभयो । जिल्लामा चार हजार तीन सय ४९ बालविकास, कक्षा एकदेखि पाँचसम्म आठ हजार चार सय ८९, कक्षा ६ देखि आठसम्म चार हजार २६, कक्षा नौ देखि दशसम्म दुई हजार ८७ र कक्षा एघार र बाह्र गरी एक हजार दुई सय एघार गरी बिस हजार एक सय ६२ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको समनवय ईकाई हुम्लाका निमित्त प्रमुख आले मगरले बताउनुभयो ।
२१ दिनदेखि विद्यालय बन्द भएर नखुल्दा बालबालिकाको पढाई प्रभावित भएको अभिभाव सिमकोट –२ का प्रेम भण्डारीले बताउनुभयो । काठामाण्डौ केन्द्रित नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकहरुले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयमा पठनपाठन बन्द हुन पुगेको भण्डारीले बताउनुभयो । कहिले पाठ्यपुस्त त कहिले शिक्षक लगायतका विभिन्न समस्या झेल्दै आएको दुर्गम जिल्लाका विद्यार्थीलाई फेरी यो आन्दोलनले थप पढाईमा बाधा पुगेको उहाँको गुनासो छ ।
शिक्षकहरु आन्दोलनमा आफ्नो सहभागीता जनाउँदै विद्यालय बन्द गरेपछि विद्यार्थीको पढाइमा बाधा पुगेको शिक्षक महासंघका केन्द्रिय उपमहासचिव काली बहादुर शाहीले बताउनुभयो । विद्यालय बन्द गर्नुपर्ने आफुहरुको रहर नभएर बाध्यता भएको शाहीको भनाई थियो । हुम्लामा नियमीत पठनपाठन भइरहेका बेला विद्यालय बन्द हुँदा थप समस्या बनाएको छ । दशेभरका अन्य जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएरका कारण त्यति पठनपाठनमा असर नगरेपनि हुम्लाका विद्यार्थीले यो आन्दोलनको प्रत्यक्ष असर परेको छ । हुम्लामा पुस १५ मा विद्यालय बन्द हुन्छन् फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन हुन्छ । तर देशभरका अन्य विद्यालयमा बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ त्यस कारण पनि उनीहरुको पठनपाठनमा त्यति असर नगरेको शिक्षकहरुले बताउने गरेका छन् ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्ला स्तरमा विभिन्न सङ्घ, सङ्गठनमा आबद्ध शिक्षक नेतृत्वहरु भेला हुँदै आन्दोलन जारी राखेका छन् । शिक्षक महासङ्घको कार्यक्रम अनुसार जिल्लामा गर्ने आन्दोलनका क्रियाकलापमा आफूहरु सहभागी भएको शिक्षक जान बहादुर जेठाराले बताउनुभयो ।
यता शिक्षकहरुको आन्दोलनका कारण विद्यालय बन्द भई आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि अभिभावक भने चिन्तित बनेका छन् । अभिभावकले बालबालिकाहरुको भविष्यप्रति गम्भीर बन्न शिक्षक र सरकारलाई आग्रह पनि गरेका छन् ।